अनि पहाड उक्लिन्छु !

ओई कहाँ आईपुगिस् तँ ? मैले खाजा बनाउदै गर्दा दुर्गालाई फोनमा सोधे ।  

म त्रिपुरेश्वर मै छु यार । आज पनि जाम छ हेर्न । 

ल ल विस्तारै आइज न । अनि साँची कोक फ्यान्टा वाइन, आज के ल्याउ भन् त ? 

आज त सेलिब्रेसन गर्नुपर्छ यार..... रम खानु पर्छ रम बुझिस् । दुर्गा म भन्दा ज्यादा खुशी सुनिन्थी ।  

ल ठिक छ । सि यु सुन । चाडो आइज । मैले फोन राखें । 

आज मेरो स्वतन्त्रताको पहिलो दिन। दुर्गा र म सेलिब्रेसन मोडमा थियौं । 
त्यसैले म खाजाको जोहो गर्दै थिएँ । दुर्गा आउने दिन म प्रायः मासु चिउरा तयार गर्थे । जाँगर चल्यो भने बदाम, पापड पनि फुराउथें । यति भएपछि हाम्रो मनपर्ने खाजा तयार हुन्थ्यो । आज मस्यौरा र गोलभेडाको अचार अनि फिंगर चिप्स पनि मेनुमा थपें । अनि तलको पसलमा गई ओल्ड मंक किनेर ल्याएँ ।
हामी अलग बस्न थाले पछि पनि दुर्गा मेरो कोठामा हप्ता दश दिनमा झुल्किन आइपुग्थी । कहिले भने महिनौं सम्म पनि आउँदिन थिई । आज त्यस्तै १७ दिन पछि आउँदै छे । ऊ आउदाँ मेरो चिसो कोठामा अनायासै न्यानो आउँछ । मित्रता अनि आफ्नोपनको न्यानो ।  
ऊ महिनौसम्म सम्पर्कविहीन हुदाँ पनि कहिलेकाही फेसबुकमा ओइ डाम्नी काँ छेस् ? मेरोमा मुन्टिन्नस् ? भनेर म्यासेज गर्नु बाहेक अरु कुराकानी खासै हुँदैनन् । ऊ पनि आउँछु पख् न भनेर आझेल हुन्छे । बीचमा कहिलेकाही उसलाई रमाईला लागेका भिडियो, आर्टिकलहरु म्यासेन्जरमा पठाइरहन्छे । हामीबीच हप्तौं कुरा हुँदैनन् । कुरा गर्नै पर्छ भन्ने जबरजस्ती पनि त थिएन । साथी हो भन्दैमा सधै भेट्नै पर्ने, कुरा गर्नै पर्ने नत्र साथी नै नहुने भन्ने पनि त छैन । यहि त हो असली मित्रताको परिचय । फेरि भेटेको बेला केही गुनासो पनि रहदैन । बरु यतिका दिन देखि बारिएर रहेका कुराका बाँधहरु फुकाइन्छन् । राती एक दुई बजेसम्म गफ गर्दा पनि गफ सकिए जस्तो हुदैनन् पो त । 

दुर्गा नै मेरो एक मात्र साथी हो जोसँग म मन खोलेर सबै कुरा गर्न पाउँछु । मलाई हत्तपत्त कसैसँग पनि आफ्नो मन खोलेर बोल्न सहज लाग्दैन । उसको भने हजारौं साथी होलान् । सबैसँग बोल्न सक्ने । चाँडै घुलमिल हुनसक्ने । तर जति साथी भए पनि मकहाँ आएर कुरा गरे पछि मात्र उसलाई पनि जिन्दगीको बोझ बिसाए जस्तो हल्का हुन्छ अरे । 
मलाई त झन भन्नै परेन । नियतिले मलाई सानैमा दुर्गासँग भेट गराउनु रहेछ । बस यति काम मेरो जिन्दगीमा सही भयो । स्कूलमा हुदाँ मलाई नोट्स सार्न दिने देखि लिएर जिन्दगीमा विषालु सम्बन्धहरुबाट बाहिर निस्कनेसम्मको आँट र साथ उसैले दिएकी हो मलाई । दुर्गालाई नभेट्दी हो त म कहाँ कुन नियति भोगीरहेको हुन्थे होला । कल्पना गर्दा पनि कहाली लाग्छ ।  
दुर्गासँग मेरो भेट कक्षा ७ मा हुदा भएको हो । पढाइ सुरु भइसकेको १ हप्ता पछि एउटी नयाँ केटी कक्षामा आई । हेर्दा फुच्ची, सिल्की घोडे कट कपाल, हल्का नेप्टे नाक र साना आँखा तर उन्मुक्त हाँसो । कसैको पनि मतलब नभएजस्तो । हामीलाई त घरमा केटीमान्छे भएर ठूलो स्वरले बोल्नु हुन्न भनिन्थ्यो । हाँस्नु त परको कुरो । त्यसैले दुर्गाको हाँसोसँग म नजानिदो पाराले आर्कषित थिएँ । मलाई पनि त्यस्तरी नै हाँस्न सक्ने हुन पाए भन्ने लागेको हुनसक्छ मनमनै । 
पछि हाँसोबाहेक उसका अरु पनि धेरै कुराहरु राम्रा लाग्न थाले । उसलाई फिल्म हेर्न मन पथ्र्यो । चित्र बनाउन मन पथ्र्यो । फिल्म हेरिसके पछि कहानीहरु सुनाउन अझै धेरै मन पथ्र्यो । हामी त कक्षा भित्रै पनि खुसुखुसु फिल्मका कहानीहरु भन्ने सुन्ने काम गरिराख्थ्यौं । सर मिसको कान छलेर । उसको कथा भन्ने शैली औधी लोभलाग्दो थियो । कथा मात्र होइन आए र हेरे जति विज्ञापनको अभिनय र गीत समेत गुन्गुनाएर मलाई सुनाउथी । उसलाई गोरखकाली टायर, उपहार चिया, रारा चाउचाउ, झिल्केदाईको कण्डम इत्यादी सबै विज्ञापन कण्ठ थियो ।

मेरो घरमा एउटा रेडियो मात्र थियो । त्यो पनि बुवाले समाचार सुन्न मात्र प्रयोग गर्ने । दुर्गाकोमा भने भर्खरै १४ इन्चको रङ्गिन टिभि आएको थियो । मान्छेहरु डाँडाघरे लाहुरे अर्थात् दुर्गाको बाको घरमा टिभि हेर्न २४ अ‍ै घण्टा तँछाड मछाँड गर्थे । म पनि भ्याएको बेला जान्थे । नभ्याएको बेला भने कहिले स्कूल मै कहिले हाफ छुट्टी, कहिले ब्रेक त कहिले क्लास मै दुर्गाले हेरी आएका फिल्म र सिरियलका कहानी सुन्नमा मस्त हुन्थे । यता घरमा भने मलाई डाँडाघरेको छोरीसँग संगत नगर्न भनिन्थ्यो । त्यो केटी आफू मनलाग्दी गरेर हिन्छे । बाआमाले तह नलाएकी छोरीसँग हिड्यो भने तँ पनि त्यहि जस्तै बिग्रन्छेस् भनिन्थ्यो । तर दुर्गासँगको मित्रता तोड्न मेरो लागि असम्भव थियो । किनकी मलाई दुर्गा औधी मनपथ्र्यो र अलि अलि गर्दै म पनि अटेरी हुन थाली सकेकी थिएँ । 

***

ओहो.....कस्तो जाम ! आज त पीना भन्दा बढि पेलियो बाफ्रे बाफ । दुर्गाको चिम्सा आँखा र हँसिलो मुहार ढोकामा देखा प¥यो ।

ओई तँ आइस् ! म पनि बुरुक्क उफ्रेर दुर्गालाई अंकमाल गर्न पुगिहाले । 

अनि के छ त तेरो? कस्तो लाग्दैछ नयाँ जिन्दगानी? दुर्गाको मुहार अझै खुल्यो । 

जिन्दगानी त आज देखी सुरु भयो नि केटी । बल्ल त मेरो दिन आयो । म त खुशी छु नि । भन्न पर्छ र ? तर कता कता दुख पनि लाग्दैछ । मान्छेहरुका कुरा कति सुन्न पर्ने हो । भोली यत्तिकै एक्लै जिन्दगी काट्न पर्ने होला भन्ने नि लागिराको छ ।   

तोइट् !!! यस्तो खुशी हुनुपर्ने दिनमा त्यस्तो बकवास कुरा सोच्ने हो त ? गोली मार त्यस्ता मान्छेका कुरा । एक्लै आको हो एक्लै जानु पर्छ । बरु प्रकाशेको चै के छ अरे खबर ? ठेगान लाग्यो कि लागेन त्यसको ? 

खै ठिकै होला नि । मलाई कसैले केही भनेको छैन । मैले सोधेको पनि छैन । सायद दुई चार दिन मुर्मुरिन्छ अनि फेरि ब्या गर्ने केटी खोज्न थालीहाल्छ नि बजिया । 

हो है । फेरि कुन बिचरीको जीवन नर्क हुने भयो । 

अँ त । तर भो त्यो कुरा नगर् । बरु भन् तेरो के हुदैछ ?अंकितको हालचाल के छ ? 

मेरो सब बिन्दास छ । नयाँ अफिसमा हाकिम्नी घिउ छिन् । उनलाई म्याम भन्न पर्दैन । नामले बोलाए हुन्छ भन्छिन् । काम गर्न पनि कति सजिलो । बस आवर पु¥याउनु प¥यो जतिबेला आए नि गए नि मतलब राख्दिनन् । 

हो है ? त्यस्तो भए पो काम गर्न पनि रमाइलो हुन्छ त । कुनै स्ट्रेस हुन्न नि ! मेरोमा इडिटर अलिक खडुस् छन् यार ! जति राम्रो फिचर लेखे पनि उसलाई चित्त बुझ्दैन  भन्या ।
हो र ? हेहे । मेरो त यो जस्तो रमाइलो काम गर्ने वातावरण कुनै अफिसमा पनि भएको थिएन । 

अनि अंकित नि अंकित ? कस्तो छ रे उता उसलाई ? मैले फेरि अंकितको बारे सोधें । 

ऊ गको एक हप्ता त भयो । एयरपोर्टसम्म ड्रप गर्न जाने चान्स समेत पाइएन । तँलाई भनेको थिएँ त मैले के कसो भनेर । अब त झन् लङ्ग डिस्टेन्स । मेन्टेन गर्न गाह्रो हुन्छ होला यार । म त सक्दिन । अर्को शिकार खोज्छु अब । हाहाहा । 

होइन के भन्छे ? कति शिकार गर्छेस् ? अनि को कसको गर्छेस् ? 
  
ल भोकै त कसरी बस्नु ? मीठो खान, राम्रो लाउन कसलाई मन हुन्न भन्त ? हाहा । दुर्गाले आँखा सन्काउदै भनी ।

हो तर मीठोको नाँउमा बाहिरको जे पाए त्यहि खान पनि हुन्न है । स्वस्थकर हुन्न ।  

हाहा भन्छेस् नै भने नखाईकन स्वस्थ अस्वस्थ के हो थाहा पनि त हुन्न नि । तर मेरो एउटै मान्यता छ भोक लागेकोहरुले भोकको समयमा खान पाउनुपर्छ । संसारमा जति पनि भोक, दुख र अभाव छ त्यो हुने मान्छेले आफूले मुठी कसेर राख्ने अनि अरुलाई नबाढ्ने भएकोले हो । मबाट अरुले र अरुबाट मैले केही पाँउदा कसैलाई घाटा हुन्छ र ? त्यसो भए समस्या किन ? त्यति गर्दा म सकिई जाने पनि होइन आखिर !  हेहे ।  

म एकछिन् निशब्द भएँ । हो त साँची ! 
यस्तै छे यो केटी । यसको कुरा सुनिराख्दा कतिबेला निशब्द पारिदिन्छे पत्तै हुन्न ।  
कक्षा १० मा पढिरहदा ताका पनि त्यस्तै भएको थियो । दुर्गाको फिल्मका कहानीहरु भन्ने शिलशिला केही कम हुदै गएको थियो । सायद एस.एल.सीको तयारी अनि आफ्नै दैनिकीले गर्दा होला दुर्गाले पनि भनेको समयमा फिल्म हेर्न पाएकी थिइन । तर एकदिन टिफिन टाइममा उसको दाईले राती सबै सुतिसके पछि हेर्ने फिल्मको कुरा निकाली । 
स्मिता हाम्रो दाईले त यस्तो खतरा फिल्म हेर्ने रैछन् हेर राती राती । म त अस्ति देखेको यस्तो छक्क परें । हामीले बच्चाबेला हेरेको फिल्म त के हो र ? हिरो हिरोइनहरु कसैले केही लुगा लगाएका हुन्नन् बाफ्रे । हेर्ने हो ? 

उसको कुराले म त साँचिक्कै ट्वा....परेछु । भनेः ला.....त्यस्तो फिल्म पनि हुन्छ ? 
मलाई झट्ट याद आयो त्यो भन्दा ३ दिन अगाडि टुल्केको काकाले स्मिता आऊ दुईजना मात्र बसेर हेर्न मिल्ने फिल्म देखाउछु भन्दै हात तानेका थिए । म त्यतिबेला उसको पसलमा नुन किन्न गएकी थिएँ । पसलमा टिभि पनि बज्दै रहेछ । म एकछिन टिभिमा अलमलिदा हो त्यो काका डाकाले मलाई त्यसो भनेको । मैले त्यतिबेला बुढाले के भने भन्ने त बुभm्या थिइँन । तर जे भन्दै छन् केही त गलत भन्दै छन् भन्ने लागेको हो । धेरै नकराउ है बुढा मान्छे अहिले काकीलाई भन्दिछु । प¥या छैन फिलिम सिलिम हेर्न हाम्लाई ! तिमी आफै हेर ......म आँखा तरेर फर्किएँ । 
दुर्गालाई पनि मैले त्यसै भने, नाँई यार म त नहेर्ने। त्यस्तो छाडा फिल्म पनि हेर्छन् ? मेरो लाज, डर, शंकोच के बोल्यो मलाई थाहा भएन । त्यतिबेला त अल्लारे नै थियौं । अहिले भाको भए दुर्गाले मेरो सातो खान्थी होली । के हो छाडाको परिभाषा? कुन चिज छाडा र कुन नछाडा भनेर कसले तोक्छ, कहिल्यै सोचेकी छेस् ? भन्दै......तर त्यतिबेला ऊ पनि त भर्खर १० कक्षा पढ्दै गरेकी तर जिन्दगीका अनेक आयामबारे प्रश्नहरु बोकेकी बच्ची न थिई ।  
कक्षा १२ मा पुगे पछि दुर्गाको हातमा मोबाइल आइपुग्यो । मोबाइल सँगसँगै अनगिन्ती, गित, एफ एम, क्यामेरा, भिडियो र केही छाडा फिल्महरु पनि । मैले पनि आफ्नो उत्सुकता दबाउन सकिन र एक साँझ उसको घरमा गई छाडा फिल्म हेरें । म बयान गर्न सक्दिन त्यो मानव आकृतिहरु जसलाई मैले पहिलो पटक पर्दामा र जिन्दगीमै पहिलोपटक बिना कपडामा देखिरहेकी थिएँ । साँची भन्नुपर्दा पहिलो पटक त मेरो सातो गयो । वयस्क पुरुषहरुको आकृति त्यस्तो हुन्छ भन्ने मलाई थाहा नै थिएन । थाहा त के त्यस्तो सोच्नु पनि ठूलो बेइज्जती हो भन्ने लाग्थ्यो ।  

ओइ तँलाई कसले दिन्छ हँ यस्तो यस्तो फिल्म ? एकदिन साह्रै खुदुल्ली लागेर सोधें ।

किन? तँलाई फिल्म बनाउने मान्छे नै चिनाइदिऊला नि ! हाहाहा...दुर्गाले हाँस्ने बहाना पाइहाली

छ्या कति मजाक गर्छे हौं भन न् । 

मलाई सौरभले दिएको हो । 

ओ ! सौरभले ? सौरभसँग तेरो यस्तो फिल्म साटासाट पनि हुन थाल्यो ? 

तँ बच्चीलाई के थाहा के के मात्र साटासाट हुन्छ हाम्रो भनेर .....हाहा

ओई तैले साँच्चै भनेकी होस् ? बिहे अगाडी त त्यस्तो पाप काम गर्नुहुन्न यार दुर्गे । बा, आमा सबले थाहा पाए भने ? 

हाहा थाहा पाए पाउँछन् । उनीहरुले यस्तो पाप काम नगरेको भए तँ कहाँबाट जन्मिन्थिस् भन् त ! फेरि किनी सकेपछि सामान गतिलो परेन भने पछुताउनु पर्छ । त्यसैले पहिले नै असल कमअसल सबै टेस्ट गरेर लिने हो । बिहे पनि त्यस्तरी नै गर्नुपर्छ यदि गर्ने नै हो भने । हाहाहा । 

म त हेरेको हे¥यै भए । आजसम्म मलाई यस्तो अजीब कुरा कसैले बताएको थिएन । सबै भन्थे छोरी मान्छेले आफ्नो इज्जतको ख्याल गनुपर्छ । धेरै केटाहरुसँग छिल्लिने होइन । उनीहरुको नजिक त पर्ने नै होइन । तर दुर्गालाई यी बन्धन र नैतिक प्रवचनको त्यति मतलब थिएन । 
दुर्गा नै मेरो जिन्दगीको पहिलो र अन्तिम केटी हो जसले केटीहरुले पाउने चरम सुखको साच्चिकै सुन्दर तरिकाले बयान गरी मलाई सुनाएकी थिई । उसैले हो मलाई केटीहरु पनि सुखका उत्तिकै भागिदार छन् र हुनुपर्छ भनेर बताएकी । बाँकी त म सकस, चित्कार र रगतका होली खेलिएका कथाहरु मात्र सुन्थे अरुबाट । मेरी आमा, काकी, फूपु, सहेलीहरुबाट । मेरो आफ्नै पहिलो रात पनि कम्ती सकसपूर्ण थिएन । अहिले सोच्दा लाग्छ, काश म दुर्गा जत्तिकै हिम्मतिली र दुनियाँको मतलब नगर्ने खालकी हुन सकेकी भएँ.....। 
                                                             ***
अनि बिहे त अंकितसँगै गर्छेस् होला नि ? अतितबाट फर्किदै भने मैले । 

हाहा बिहे ? खै यो जुनिमा त गरिन्न होला स्मिते । 

किन नि ?

त्यो झमेलामा पर्नु छैन यार मलाई । बिहे गर । अर्काको घर जाऊ । जिन्दगीभर अरुलाई खुशी बनाउ । एकबारको जुनीमा पनि दुखै सहेर मर्नु ? जति बुझ्दै गयो यो बिहे भन्ने चै बकवास लाग्ने रहेछ ।

हाहा हो त्यो त !  

हो भन्या ! विवाह इज फकिङ्ग प्रलमेटिक फर अल विमेन ! तँ आफै भन त्, हाम्री आमाहरुले बिहे गरेर के पाए ? तैले नै विवाह गरेर सुख पाईस् त ?तैले आफूलाई बिर्सिएर जबसम्म उनीहरुको आवश्यकतालाई मात्र ध्यान दिन्छस् त्यतिन्जेल सबै खुशी र ठिक हुन्छ । तर जब तँ आफ्नो खुशी, इच्छा, चाहनालाई ध्यान दिन थाल्छस् अनि सबैलाई गाह्रो हुन्छ । उफ्् यस्तो कुरा पनि के गरिराख्नु यार दिमाग मात्र ह्याङ्ग हुन्छ । 

दुर्गाले भनेको सबैकुरा साँचो थियो । प्रकाशसँगको १० महिना मेरो जीवनकै कहालीलाग्दा १० महिना थिए । उसको अनि घरको भौतिक आवश्यकताहरु पुरा गरिदिन त केही थिएन । शारिरीक आवश्यकता पु¥याउन भने आफू मरे जत्तिकै हुनु पथ्र्यो । प्रकाशले मेरो इच्छा र सहमतिको कहिल्यै पनि ख्याल गरेन । ऊ मान्छे कस्तो रहेछ भन्ने बिहे गरिसकेपछि थाहा भयो । मलाई खुशी पार्न कहिलेकाही फिल्म देखाउन लाने, कहिले मलाई मन पर्ने दुधको कुल्फी किनेर ल्याई दिने गथ्र्यो । रात परेपछि भने कहानी अर्कै हुन्थ्यो । ऊ प्रत्येक रात भिन्दा भिन्दै नाङ्गो फिल्म हेरी मलाई त्यसरी नै तयार हुन भन्थ्यो । एक पटक होइन । पटक पटक । मेरो शरिर उसको लागि फगत एक प्रयोगशाला र मनोरञ्जनको साधन थियो । जसमा निलडाम अनि दाँतको निसान नछापिएको ठाँउ हुन्थेन । मैले कतिपटक मलाई मन पर्दैन भनेर बिन्ति भाउ नगरेको पनि होइन तर तिमीलाई बानी नपरेर हो, बानी परेपछि सब ठिक हुन्छ भन्ने उसको बुझाई थियो । बानी पर्नको लागि कति समय र कति पटकको प्रयास चाहिन्छ भन्ने चाँही उसले पनि भनेन । मलाई पनि थाहा थिएन ।
बीच बीचमा म आत्तिएर घर छोडी आफ्नो जन्म घर जान्थे । केही दिन त यो नरकबाट मलाई छुटकारा मिल्छ कि भनेर । तर बाबा आमालाई फोन गरेर स्मिता विना शुन्य शुन्य लाग्छ आमा भनेर चेपारे घस्थ्यो ऊ । आफूले भनेजस्तो गर्न नपाए पछि त शुन्य शुन्य लागि हाल्छ नि आखिर । मान्छेलाई पीडा दिएर मान्छेलाई कस्तो खाले आनन्द मिल्छ खै कुनी ।  
अरुले देख्दा भने प्रकाश दुनियाँकै असल र समझदार मान्छे थियो । फूपुले प्रकाशको कुरा लिएर आउदा घरका सबैले भनेका थिएँ यति राम्रो केटालाई जान दिइस् भने पछि पछुताउछेस् । पढाई त बिहे पछि पनि चालु राख्न सकिन्छ नि । पढेको केटो हो तँलाई सघाउँछ नै । बिहे पछि पढ्न दिन्न भनेको पनि छैन आखिर । दुनियाँले केटीहरुको अन्तिम र एउटै लक्ष्य विवाह नै हुनुपर्छ भनेर कसरी षडयन्त्र रच्दा रहेछन् आज आएर बुझेकी छु । त्यतिबेला बुझ्न सकिँन । सक्नु पनि कसरी जब सारा परिवार र खानदान नै मनाउनका लागि त्यस्तरी पछि पर्छन् । अनि त मैले मान्न करै लाग्यो । 

मेरो बिबाहको कुरा टुगिंदा दुर्गाले साँचिक्कै ननिको मानेकी थिई । 
स्मिते तँ कसरी यस्तो गर्न सक्छस् भन् त ? व्याचलरको एक्जाम सकिएपछि तँ र म सँगै काठमाण्डौं गएर काम गर्दै पढ्ने भनेको कुरा बिर्सिइस् ? तेरो राइटर बन्ने सपना बिर्सिइस्? के अरुको घर सम्हाल्नलाई मात्र तेरो जन्म भएको हो भन् त । 
दुर्गाले सोधेको प्रश्नहरु मैले आफूले आफैलाई नसोधेको पनि होइन तर त्यतिबेला ढिला भइसकेको थियो । म आफ्नो निर्णय फिर्ता लिन सक्ने स्थितीमा थिइँन । 

अन्ततः मेरो बिहे भयो । मेरो बिहेको दिन दुर्गाको चेहरा खुल्दै खुलेन । अहिले भाको भए त सायद मेरो बिहेमा पनि आउथिन होली । भन्छे केटीहरुलाई गाईबाख्रा जसरी मंगलसुत्रको दाम्लोमा बाँधेर लग्छन् । त्यो विभेद यो आँखाल कसरी हेर्नुे ? त्यसैले केटी अचेल निम्तो आए पनि कसैको बिहेमा सकभर जादिन । उसको बिहेलाई लिएर एउटै एजेन्डा छ, जबसम्म विवाहमा केटा र केटी पक्ष दुबै बराबरीको स्थितीमा हुन्नन् तबसम्म त्यस्तो बिहेहरु कुनैमा पनि जानु नपरोस् । अरु त अरु फेसबुकमा नवजोडीहरुको फोटोमा अरुका कमेन्ट देखेर भन्छे , उफ् यो बधाई भन्ने शब्द पनि कति सस्तो भएको नि । मान्छेलाई कतिखेर शुभकामना र कतिखेर बधाई लेख्ने पनि थाहा छैन । बधाईले विवाहलाई कति ग्लोरिफाई गरिरहेछ । मान्छेहरुलाई ख्याल नै छैन !
                                                      ***

अनि तेरो घरकाले केही भनेनन् ? दुर्गाले मेरै बारेमा जान्न चाही । 

भने नि , आज देखि हाम्ले तेरो मुख हेर्न नपरोस् , अस्ति सम्म त छोरी फर्केली हामीले भनेको मान्ली भन्ने थ्यो । तर हाम्रो नाक काट्नैलाई जन्मिएकी रैछेस् भने नि ।  

हाहाहा...खत्रा डाइलग मारेछन् नि ? मलाई नि सरापे होलान् है तेरो बाऊ आमाले त ?

अँ आमा अचेल केही भन्दिनन् । बाले चाही मेरी सोझी छोरीलाई विगार्ने त्यहि दुर्गे हो भनीराख्छन् रे ।  तेरो बालाई ए डाँडाघरे, दुर्गेले भनेको त खान्छे नि हाम्री स्मिताले लौन, सम्झाएर घर पठाउन लाईदेउ त्यल्लाई भन्थे के त? मैले सुनाको छु त तँलाई ? अचेल त तेरो बाआमासँग नि राम्ररी बोल्दैनन् रे ।

हुन पनि लाख कोशिष गरेैकै हुन् बा आमाले पहिले । जब १० महिना पछि म अकस्मात् रित्तो हात उनीहरुको ढोकामा झुल्किएँ बाआमाले केही खुशी केही सशंकित हुदै मलाई स्वागत गरेका थिए । मैले केही दिन आमाबा कहाँ बस्छु अनि दुर्गेकहाँ जान्छु भन्ने पहिलै मन बनाइ सकेकी थिएँ । त्यता बस्यो भने मलाई टिकी खान दिन्नन् भन्ने थाहा थियो । पहिले पनि त आखिर म आफ्नो पीडाको भारी बिसाउ भनेर आमा कहाँ आउँथे । ममाथी के गुज्रिरहेको छ भनेर भन्न सक्दिन थिएँ । तै पनि मलाई गाह्रो छ भनेर थाहा त दिएकै हुँ । तर बाउ आमाको लागि पनि पराई घरलाई दिईसकेकी छोरी पराई नै हुने रहेछन् । दुबै एकै स्वरमा भन्थे, छोरी मान्छेले अलि अलि सम्झौता त गर्न परिहाल्छ नि । केही कुरामा चित्त बुझेन भनेर त्यसरी घरबार नै छोडेर हिड्नु हुदैन । आईमाईको कर्म नै यस्तै हो । हाम्रो इज्जतको ख्याल राखिदे नानी । यता जोरीपारी हाँस्न थालीसके । तँ खुरुक्क घर जा । अहिल्यै केही बिग्रीसकेको छैन । 

त्यसो हुन नदिन त्यो पाली म दृढ थिएँ । मैले पहिलै देखि दुर्गासँग फोनमा कुरा मिलाई सकेको थिएँ । जानु अघि भनेकी थिएँ, आमा अब म काठमाण्डौं जान्छु । गएर उतै पढ्छु । काम नपाउन्जेल दुर्गाकै बस्छु । पाएँ पछि अलिक सजिलो हुन्छ होला । 
मैले यति भन्नासाथ आमा केही बोलिनन् बरु रुन थालिन् । म यत्तिकै एकछिन् गम खाएर बसें । मलाई रुन आउथ्यो होला सायद तर मेरो रुवाइको कोटा प्रकाशकै घरमा सकिईसकेको थियो । अब त मलाई जिन्दगीबाट हाँसो नै हाँसो तिराउनु थियो । आमाले रुदै भनिन्, राम्ररी गएस् नानी, बालाई अहिल्यै नभनौं । फेरि अनेक बखेडा झिक्छन् । मैले जिन्दगीभर पाँउन नसकेको मेरो भागको सुख पनि अब तैँले नै भोग्न पाओस् । मलाई बेलाबेला आफ्नो खबर चाहि पठाउँदै गरेस् । 

आमाको कुराले म स्तब्ध भएँ । यो त मैले नसोचेको भयो । आमालाई यो दिन आउँछ भन्ने सायद पहिल्यै थाहा थियो । आखिर छोरीको कुरा आमाले र छोरीमान्छेका कुरा अर्को छोरीमान्छेले जति कसले बुझ्छ र ! आईमाईका शत्रु आईमाई त हामीलाई दुनिँयाले करार गरिदिन्छन् । यता दाई, बुवा, प्रकाशको परिवारलाई यो कुरा स्वीकार्य थिएन । उनीहरुले दिनदिनै मलाई फोनमा इमोसनल ब्याल्कमेलिङ्ग गरिरहन्थे । 
प्रकाश भन्थ्यो, स्मिता, मेरो मायामा के कमी भयो ? जो आज तिमी मलाई यस्तरी विचल्ली पारेर हिडेकी छ्यौं । मैले त सक्दो कोसिस गरेको थिएँ । 
फेरि अर्को पल भन्थ्यो, तँ को केटासँग भागेकी होस् भन् त ! त्यसलाई देखे भने बाटोमै छप्काउछु । होइन् तँ त्यो दुर्गेसँग लहसिएकी होलिस् । तिमरुको त पहिल्यै देखि के के सिनहरु थियो रे ! मैले नै बुद्धि पु¥याइनछु र तँसँग विहे गरें । मेरो जिन्दगीलाई मजाक बनाउने तिमरुलाई पनि छोड्दिन । मैले देखौं मात्र न, एसिड फ्याक्दिन्छु । मेरा नि मान्छे छन् काठमाण्डौंमा । 
त्यो घर छोड्नु अघि मैले जे जति भनेँ त्यति नै काफी थियो । मलाई उसँग केही गुनासो गर्नुपर्ने आवश्यकता थिएन । न त कुनै स्पष्टीकरण दिनुपर्ने जरुरत । उसले माया गरी फकाउन खोज्दा न त म मायाले पग्लिएँ न त धम्क्याउदा डराएँ नै । मलाई बस् उसको असलियत बाहिर आओस् भन्ने मात्र थियो । दनियाँले प्रकाशको यो रुप किन देख्दैन वा उसले कसरी यो रुप अरुका अघि लुकाउँछ भन्ने कुराले चाहि मलाई अचम्म लाग्थ्यो । दुनियाँले त मैलाई औला सोझ्याउथ्यो । स्मिते सोझी भनेकी त होइन रैछे । त्यस्तो राम्रो घर र लोग्ने पाएर पनि कस्तो थिरसँग बस्न नसकेकी ।निहुँ खोजी खोजी माइत आइरहन्छे रे । यस्ता कुरा त कति मेरै कानले पनि सुनेको छु । मान्छेहरु फेरि कस्तरी मजाक गरे जस्तो गरी मुटुमै प्रहार गर्छन् ओहह !
मैले प्रकाशले बोलेको कुरा सुटुक्क रेकर्ड गर्न भ्याइहाले ।  
                                                         ***

अब मलाई मान्छेहरुले के भन्छन् थाहा छ दुर्गे ? 

के भन्छन् ?

कति पैसा कुम्ल्याउन पाँउछु भनेर डिर्भोस् मागेकी होली त्यसले भन्छन् । प्रकाश त विचरा पत्नी पीडित हो नि उनर्को लागि !

अँ जिन्दगीभर काम नगरी बसी बसी खान पुग्छ अब भन्दे न् ! पीडित त हो नि साला ! 

दिनरात नभनी त्यसको पूरा परिवारलाई पकाएर ख्वाऊ, उनीहरुका लुगा धोउ, राती त्यसको सेवा गर । त्यसलाई सबै काम अरुले ठिक्क पार्देर बाँचेको छ । अब गर्ने मान्छे नभएसी पीडित भएन त त्यो ?  

दुर्गाले भनेको कुरामा सत्यता छ । बिहे गरेर गएँ देखिन् म विना पारिश्रमिककी कामदार बनेकी थिएँ । म जति नै ट्युसन पढाएर ढिला घर आँऊ, खाना मैले नै बनाउनु पथ्र्यो । एक त ७ः३० भन्दा पर घर फर्किने अनुमति थिएन । बरु ढिला होला भनेर तरकारीहरु काटकुट बनाएर सम्म सासुमाले राखिदिन्थिन् । तर पकाउने कामबाट भने म माइत गएदेखि बाहेक कहिल्यै फुर्सद मिलेन । आफ्नो खुशीले गर्न पाउने काम पो बोझ बन्दैन त । सधै आफैले मात्र गर्नुपर्ने गरी थोपरिने काम गर्न कसलाई मन पर्छ र ? त्यसमाथी कहिले नुन पुगेन । कहिले रोटी डढ्यो । कहिले तरकारी मीठो भएन । सबै दोष आफूले बोक्नुपर्ने । सबैको इच्छा बमोजिमका खाना दिन दिनै टक्रयाउदा पनि कहिल्यै दुख गरेकी छे भनेर जस नपाइने । हामीले दिनदिनै भोगेको पीडा चै कसले देख्ने ? अझ प्रकाश चाही पत्नी पीडित ? “पत्नी पीडित” शब्द त फगत एक मिथ्या रहेछ । 

लु खाउँ यार स्मिते ! भोक लाग्यो । 
दुर्गाको वाक्यले म वर्तमानमा फर्किएँ । अनि मैले भुँइमा पत्रिका ओछ्याएर त्यसमाथी सबै खानेकुरा एक एक गर्दै प्लेटमा पस्किएँ ।  ओल्ड मंकको बिर्को खोलेर दुई वटा गिलासमा खन्याएँ । अनि खाजा र गिलास दुबै दुर्गाको हातमा थमाएँ । 

चियर्स टु दि फ्रिडम् ! दुर्गाले मेरो ग्लासमा आफ्नो ग्लाँस जोडेर भनी । 

चियर्स ! मैले पनि साथ दिएँ ।

हाहाहा.....दुबै बिग्रेकी केटीहरुको भयानक हाँसोले कोठा गुन्जायमान भयो ।  
मैले खान सुरु गर्दा पहिलो पटक पनि दुर्गासँग नै उसको घरमा कोदोको जाँड पिएकी थिएँ । त्यतिबेला मलाई जाँडले फनफन्ती घुमाएको थियो । हिजो सम्म मलाई जिन्दगीले फन्फन्ती घुमाएको थियो। र आज यो रमले पनि घुमाउने छ । घुम्नु र घुमाउनुको नाम नै जिन्दगी त रहेछ ।

अब के गर्ने सोचेकी छेस् त ? दुर्गाले एक चुस्की लिदै मलाई फेरि सोधी । 

अब केही समय काठमाण्डौं कै गल्ली चहार्छु । जब बोर हुन्छु अनि पहाड उक्लिन्छु । मान्छेहरुलाई भेट्छु । उनीहरुका कथा सुन्छु । पहिले अनगिन्ती कथा नै नसुनी त कसरी कथा लेख्न सक्ने हुँला होइन ? हिहिहि

ए हुई ना बात् ! दुर्गाले चिम्सा आँखा तन्काउदै खुशी व्यक्त गरी । आँखा तन्किदा त्यसभित्रका नानी अचानकसँग चम्किलो भयो । मैले मेरो आफ्नो आकृति नै त्याँ देख्ने गरी । त्यो आकृति यति सुन्दर होला भन्ने मलाई पहिले कहिल्यै लागेको थिएन । 
                                                      ***

Comments